स्थानीय तहको लेखा प्रणाली नष्ट, सर्भर ह्याक भयो !

Post Thumbnail

पौष ९, काठमाण्डौँ । देभरकै स्थानीय तहको लेखा प्रणाली व्यवस्थित गर्न सर्भर सूत्र लामो समयदेखि ‘बिग्रिएको’ छ । सम्बद्ध अधिकारीहरूले यसलाई ‘ह्याक’ भएको भनिरहेका छन् । यसबाट ७ सय ५३ वटै स्थानीय तहका अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएका छन् । महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ‘सूत्र’ को गडबडीबारे प्रहरीले अनुसन्धान थालेको छ ।

सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) ले २०७५/७६ बाट स्थानीय तथा प्रदेश सररकाको सञ्चित कोष व्यवस्थापन गर्न सूत्र कार्यान्वयनमा ल्याएको थियो । महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा निरीक्षक निरज केसीका अनुसार बिहीबार रातिदेखि सर्भर ह्याक भएको छ । केही स्थानीय तहले भने मंसिर दोस्रो सातादेखि बिग्रिएको जानकारी दिएका छन् ।

२०७६ वैशाख २३ गते मन्त्रिपरिषद् बैठकले सबै स्थानीय तहमा सूत्र लागू गर्ने निर्णय गरेको थियो । ‘सूत्र’ले काम नगरेको जानकारी सबै स्थानीय तह र प्रदेश सरकारलाई गराइसकिएको उपमहालेखा निरीक्षक केसीले बताए । ‘अघिल्लो वर्ष साउनयताका सबै सिस्टम कोल्याप्स भयो । हामीले मंसिरसम्मको डाटा सर्भर बाहिर निकालेर राखेका थियौं। झन्डै एक महिनाको डाटा सबै नष्ट भयो,’ उनले भने ।

महालेखा नियन्त्रक गोपीनाथ मैनालीले अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पत्र लेखेर जानकारी गराइसकिएको बताए । सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले ‘सूत्र ह्याक’बारे अनुसन्धान भइरहेको बताए । यो खबर आजको अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्लेरउपेन्द्र अर्यालले लेखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस