फाल्गुण २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुरु गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई अहिले १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो ।
मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ । अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण शुरु गरेको हो । मिर्गौला प्रत्यारोपणअघि उनको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए ।
प्रधानमन्त्रीकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गौला दान गरेकी छन् । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
यसैगरी प्रधानमन्त्री केपी ओलीको बुधबार गर्न लागिएको मृगौला प्रत्यारोपणको सफलताको कामना गर्दै पशुपतिनाथ मन्दिरमा बिहान विशेष पूजा गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा। मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यको कामना गर्दै रुद्राभिषेक सहितको विशेष पूजा गरेका हुन् ।