फाल्गुण २५, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चाँडोचाँडो आन्तरिक समीकरण हुँदै गएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई नेकपा गठन भएपछि समीकरणमा फेरबदल आएको हो । तर, यतिबेला दुई सचिवालय सदस्यको भूमिकालाई लिएर नेकपामा बहसको विषय बनेको छ ।
नेकपामा अहिले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा बादलको भूमिकाप्रति सबैले चासो देखाएका हुन् । गोरखा २ बाट प्रतिनिधिसभामा पराजित भए पनि दुई वर्ष नारायणकाजीलाई राष्ट्रिय सभा सदस्य बनाइएको छ । उनलाई सांसद बनाउन प्रधानमन्त्री केपी ओलीको विशेष योगदान रहेको बताइन्छ । एक वर्षयता प्रचण्ड र बादलबीच खासै बोलचाल हुन छाडेको बुझिएको छ ।
नेकपामा अहिले नारायणकाजी र बादलले खेल्ने भूमिकालाई लिएर दुवै आधा प्रधानमन्त्री केपी ओलीतिर र आधार प्रचण्डतिर रहेको नेता कार्यकर्ता बताउँछन् । सरकार सञ्चालनमा नारायणकाजी र बादलले ओलीलाई सपोर्ट गर्ने गरेका छन् भने पार्टी सञ्चालनमा प्रचण्डलाई साथ दिने गरेका छन् । वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गर्दा ओलीको पक्षमा ईश्वर पोखरेल मात्र थिए । विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ मौन थिए । बाँकी पाँचजना वामदेवको पक्षमा खुलेरै लागेका थिए । त्यसपछि सचिवालयको निर्णय कार्यान्वयन गर्ने भनेर भएको भेलामा पनि पौडेल र श्रेष्ठ उपस्थित भएनन् ।