फाल्गुण २८, काठमाण्डौ । नेपाली कांग्रेसमा फेरि विवाद चर्किएको छ । सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापति हटाएपछि फेरि थप विवाद चर्किएको हो । सभापति देउवाले नवलपरासी बर्दघाट पश्चिम का कार्यबाहक सभापति अर्जुन पोखरेललाई हटाएपछि वरिष्ठ नेता पौडेल पक्षले आकस्मिक बैठक बोलाएका छन् ।
पोखरेलको ठाउँमा देउवाले आफैंले हस्ताक्षर गरेर विष्णु पौडेललाई सभापति तोकेर पठाएपछि पौडेल पक्ष आक्रमक बनेको छ । पोखरेल महामन्त्री शशांक कोइराला निकट हुन् । राज्य पुर्नसंरचना अघि जिल्ला कार्यसमितिका सभापति विष्णु लामिछाने थिए । राज्य पुर्नसंरचना पश्चात जिल्ला विभाजित भई दुइटा भएपछि लामिछाने बर्दघाट पूर्वका सभापति भए । नयाँ जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिम मा तत्कालीन उपसभापति रहेका पोखरेललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको थियो । तर, सभापति देउवाले पोखरेललाई हटाएर पौडेललाई बनाएका छन् । यही बिषयलाई लिएर पौडेल पक्षले बुधबार रणनीति तय गर्न बैठक बोलाएका छन् । विषयलाई लिएर मंगलबार महामन्त्री कोइराला निवास महाराजगञ्जमा वरिष्ठ नेता पौडेल पक्षको बैठक नै बसेको थियो ।