चैत्र २४, काठमाण्डौ । बिश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण त्रास बढीरहे पनि नेपाल यो भाइरसबाट मुक्त हुन सरकार निरन्तर लागीपरेकाले सफल भईने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । उनले प्रधानमन्त्री केपि शर्मा ओली सरकारले यो भाइरसबाट जोगाउन निरन्तर लागीरहेकाले पनि सफल भईने बताएका छन । उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस हेर्नुहोस् :
”कोरोना भाइरसका कारण साधन स्रोतहरुले सम्पन्न भएका र आर्थिक रुपमा समेत सशक्त देशहरुलाई हायल कायल पारिरहँदा यो भाइरस नेपालमा प्रवेश गरे लाखौंमा संक्रमण फैलने र हजारौं मानिसहरु मारिन सक्ने चर्चापरिचर्चा भएकै हो । तर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका परिपक्क, दुरगामी तथा प्रभावकारी कदमहरु , प्रदेश र स्थानीय सरकारहरुको सक्रीयता तथा आमनागरिकहरुको विवेकपूर्ण भूमिकाका कारण नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको छ । यद्यपी संसारलाई त्रसित बनाइरहेको कोरोना भाइरसका कारण आइपर्ने सम्भावित माहामारीको त्रासदी कायम नै छ । तर, सरकार कोरोना विरुद्ध हरतरहले तयार भइसकेको छ । केही महिना अघिसम्म पनि कोरोना परीक्षणका लागि बिरामीको स्वाब नमूना संकलन गरेर तेस्रो मुलुकमा पठाउनुपथ्र्यो । केही दिन अघिसम्म मात्र पनि देशभरीबाट संकलित नमूनाको केन्द्रीय प्रयोगशाला टेकुमा मात्र परीक्षण गर्नुपर्ने वाध्यता थियो । टेकुमा मात्र सिमित रहेको ल्याब अब देशका सातै प्रदेशमा उपलब्ध भइसकेको छ ।
प्रदेश एकको धरान, प्रदेश दुईको जनकपुर, प्रदेश दुईका कतिपय जिल्लाहरुलाई समेत पायक पर्नेगरी बागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश पाँचको भैरहवा, कार्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा कोरोना परीक्षण ल्याब स्थापना भई परीक्षणको काम समेत नियमित सञ्चालन भइसकेको छ ।
संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा टेकु र हेटौंडाबाट मात्रै कोरोना परीक्षण हुँदै आएकोमा आजबाटै चितवन र केहीदिन मै काभ्रेको धुलीखेलबाट समेत कोरोना परीक्षण हुँदैछ । सरकार अब धेरै धन्दा धेरै व्यक्तिहरुको कोरोना परीक्षण गर्ने र उपचार र अन्य प्रक्रियालाई निरन्तरता दिनेगरी अगाडि बढ्ने छ । प्रदेशबासी दाजुभाइ, दिदीकहिनीहरुले भने लकडाउनको पूर्ण पालना गरी कोरोना भाइरसलाई माहामारीको रुपमा फैलनबाट जोगाउनु हुन हार्दिक अनुरोध गर्दछु ।”