वैशाख अन्तिममा बजेट अधिवेशन, जेठमा नीति तथा कार्यक्रम

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख १९, शुक्रबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

वैशाख १९, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट १५ जेठमा सार्वजनिक गर्न वैशाख अन्तिम साता बजेट अधिवेशन र जेठ पहिलो साता ‘नीति तथा कार्यक्रम’ ल्याउने तयारी सुरु भएको छ । गत वर्ष बजेट अधिवेशन १६ वैशाखमा नै बोलाइएको थियो । सरकारले आगामी आइतबारसम्म बैठक सञ्चालनको सबै तयारी सक्न संसद् सचिवालयलाई निर्देशन दिएको छ । आगामी नयाँ बजेट आन्तरिक रोजगारी व्यवस्थापन, स्वदेशी उत्पादन बढाउन र स्वास्थ्य क्षेत्रको पूर्वाधार बढाउन केन्द्रित हुनेछ ।

अहिले विश्वमहामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमणका कारण मुलुक गत ११ चैतदेखि लकडाउनमा रहेकाले संसद् अधिवेशन कहिले बस्ने मितिसमेत तय गर्न अन्योल भइरहेका बेला संघीय संसद्का सभामुख सापकोटा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बजेट अधिवेशन आह्वान गर्ने तयारीबारे छलफल भएको हो । जसका लागि सभामुख सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानमन्त्री ओलीले संसद् भवन बानेश्वरमा भइरहेको तयारीको अवस्थाबारे अवलोकन गरेका हुन् ।

सभामुख सापकोटाले सामाजिक दूरी कायम गरी संसद् चलाउन सक्ने धारणा राखेपछि प्रधानमन्त्री ओली संघीय संसद् भवनमा रहेको बैठक कक्ष अवलोकन गर्न पुगेका हुन् । बैठक कक्ष अवलोकनको क्रममा बजेट अधिवेशनको तयारी, राष्ट्रपतिले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रम, बजेटको सिद्धान्त र प्राथमिकताका सन्दर्भमा छलफल व्यापक भएको थियो ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले यस्तो जानकारी गराएका हुन् । संसद् सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि एक÷एकवटा कुर्सीको फरकमा सामाजिक दूरी कायम गरेर बैठक सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । जसका लागि अहिले धमाधम संसद् भवनको सरसफाइ र बैठक कक्ष व्यवस्थापन सुरु भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस