साउन २९,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चार घण्टादेखि छलफल चलिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल चलिरहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । अध्यक्ष प्रचण्ड ११ बजे बालुवाटार पुगेपछि दुई नेताबीच छलफल भइरहेको हो ।
दुई अध्यक्षको छलफल चलिरहँदा बालुवाटारमै नेकपाका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल र जनार्दन शर्माबीच पनि छलफल भइरहेको छ । उनिहरु कुनै बेला अध्यक्षसहितको बैठकमा पुगेर छलफल गरेको र कुनै बेला आफू–आफूमै छलफल गरिरहेको पनि स्रोतले जानकारी दियो । दुई अध्यक्षबीच भइरहेका कुरालाई तीन नेताले सहमतिको मस्यौदाका रुपमा तयार गर्नेछन् ।
बुधबार प्रधानमन्त्री ओलीले एक टेलिभिजन अन्तर्वार्तामा पाँच दिनभित्र नेकपाभित्रको विवाद समाधान हुने दाबी गरेको भोलिपल्ट नै छलफल हुनुलाई महत्त्वका साथ हेरिएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले स्थायी समिति बैठकमा आफू नजाने, केन्द्रीय समिति बैठक नबोलाउने, स्थायी समिति बैठक राखेमा वैधानिक नहुने, अध्यक्ष र प्रधानमन्त्रीको पद नछोड्ने लगायत अडान राख्दै आएका छन् ।
अर्का अध्यक्ष प्रचण्डले भने प्रधानमन्त्री ओलीले कुनै एक पदबाट राजीनामा दिनुपर्ने, रोकिएको स्थायी समिति बैठक सुरु गर्नुपर्ने र त्यो नभए केन्द्रीय समिति बोलाउनुपर्ने बताउँदै आएका छन् । यही कारणले नेकपामा विवाद बढेको छ ।