साउन ३०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले आन्तरिक विवाद मिलाउन ६ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा कार्यदल गठन गर्ने सहमति भएको हो ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन् । ओली, प्रचण्ड र माधव नेपाल समूहका दुईदुई जना रहेको कार्यदललाई कुनै समय सीमा तोकिएको छैन । तर कार्यदलले चाँडोभन्दा चाँडो पार्टीभित्रका समस्या समाधानका लागि एकीकृत सुझाव दिने महासचिव पौडेलले बताए ।
कार्यदलले पार्टीमा उत्पन्न समस्या समाधानका सम्बन्धमा कुन विषयमा कसरी सहमति गर्ने भनेर लिखित रुपमा दुई अध्यक्षलाई लिखित सुझाव पेश गर्नेछ । त्यसआधारमा दुई अध्यक्षले सहमतिको प्रस्ताव सचिवालयमा पेश गर्नेछन् । त्यसपछि मात्र स्थगित स्थायी कमिटी बैठक सुचारु हुने नेकपा स्रोतले जनाएको छ ।