पुर्वप्रधानमन्त्री भट्टराईको कटाक्ष: ‘केपी ओली जस्ता गैरजिम्मेवार मान्छे सत्तामा छन्’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ श्रावण ३०, शुक्रबार (४ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

साउन ३०,काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले कोरोना सङ्क्रमण रोकथाम र व्यवस्थापनमा सरकार असफल भएको बताएका छन् ।

चार महिनासम्मको लकडाउनमै सङ्क्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनको व्यापक तयारी हुनुपर्नेमा सरकार चुकेको उहाँको भनाइ छ । गोरखा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गर्न शुक्रबार गोरखा पुगेका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै व्यापक रुपमा परीक्षण गर्ने, क्वरेण्टीनको व्यवस्था गर्ने, बिरामीहरुको लागि आवश्यक पर्ने भेन्टिलेटर लगायत उपकरण व्यवस्थापनमा सरकारले प्रभावकारी काम गर्न नसकेको बताए ।

कोरोना सङ्क्रमणको व्यवस्थापनको काममा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षाको सन्दर्भ तथा भारतसँगको सीमा विवादको विषयमा पनि सरकारले चासो नदिएको भट्टराइको भनाइ छ ।

‘रामभरोसाको भरमा सरकार अघि बढेको छ । नियोजित, व्यवस्थित र योजनाबद्ध ढङ्गले कुनै काम भएको देखिएको छैन’, भट्टराईले भन्नुभयो, ‘प्रत्येक परीक्षणमा पाँच प्रतिशत सङ्क्रमित भेटिएको छ, व्यापक रुपले परीक्षण गर्ने हो भने १० लाखभन्दा बढी सङ्क्रमित भेटिने खतरा छ, नागरिक आफैले आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने देखिएको छ ।’

आगामी हिउँदसम्ममा विश्वव्यापी रुपमै कोरोना सङ्क्रमण अझै बढेर जाने विश्व स्वास्थ्य सङ्गठनलगायतको प्रक्षेपण रहेको र भारतमा तीव्र रुपमा सङ्क्रमण बढेकोले त्यसको प्रभाव नेपाललाई पनि पर्नेतर्फ सरकार गम्भीर बन्नुपर्ने उनले बताए ।

तर सरकारले भने पार्टीभित्रको झगडामा मात्रै अलमलिएको भट्टराइको दाबी छ । ‘हामीले यस्ता नेता छानेका छौँ, कोरोनाको यस्तो बेला आफ्नो पार्टीको झगडाका लागि महिनौँ वार्ता गरेर बस्नुभएको छ’, उनले प्रश्न गरे, ‘के हामी उहाँहरुको वार्ता कहिले हुन्छ भनेर कुरेर बस्ने हो, उहाँहरुको वार्ता डोनाल्ड ड्रम्प र सी जिनपिङको अथवा मोदी र ओलीको जस्तो ठान्दिनु पर्ने हो हामीले रु’

पार्टीको आन्तरिक झगडामा भन्दा पनि प्रधानमन्त्रीको प्राथमिकता अस्पताल बनाउने, भेन्टिलेटर आदिको व्यवस्थापन गर्नेतर्फ हुनुपर्नेमा उहाँ अयोध्या खोजेर बसिरहनुभएको छ भन्दै भट्टराईले आलोचना गरे ।

‘यो बेला राममन्दिर बनाउने बेला हो कि अस्पताल ? उहाँहरु उल्टो दिशातिर गइरहनु भएको छ, देश र जनतालाई ठूलो धरापमा पारिरहनु भएको छ’, भट्टराईले भने ।

देश अहिले सरकार विहीनताको अवस्थामा रहेको उनको टिप्पणी छ । त्यसैले देशले अब केपी ओलीको विकल्प खोज्नुपर्ने र त्यसका लागि नागरिक समाज पनि अग्रसर हुनुपर्ने उनले बताए। ‘केपी ओली जस्ता गैरजिम्मेवार मान्छे सत्तामा छन्, लहडको भरमा कुनै स्पष्ट नीति विना अघि बढ्छन्, सोच विचार पूर्ण नीति उनको छैन, यस्तो मान्छे नेतृत्वमा रहेसम्म देशले आगामी दिनमा दुःख मात्रै पाउनेवाला छ’, भट्टराईले भने, ‘यो नेकपाको आन्तरिक मामिला मात्रै हो भनेर चुप लागेर बस्ने अवस्था छैन, नेपाली जनताले नै आवाज उठाउनुपर्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस