भाद्र ४, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) नेकपा (एमाले) निर्वाचन आयोगमा बुधबार विधिवत दर्ता भएको छ । यसअघि सो दलको निवेदनलाई लिएर नेकपा भित्र विवाद चुलिएको थियो । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच २०७५ जेठ ३ मा एकता भएपछि एमाले अस्तित्वमा नभएका बेला विराटनगर ६, मोरङ स्थायी घर रहेकी सन्ध्या तिवारीको अध्यक्षतामा सो दल दर्ताका लागि गत असार १६ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको थियो । २१ सदस्यीय केन्द्रीय कार्य समिति रहेको सो दल निर्वाचन आयोगमा बुधबार दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार सो दललाई तत्कालका लागि दर्ता प्रमाणपत्र प्रदान गरिएको छ । राजपत्रमा प्रकाशित भएपछि आधिकारिक प्रमाणपत्र पछि उपलब्ध गराइने उनले जानकारी दिए । यसअघिको नेकपा एमालेको निर्वाचन चिन्ह ‘सूर्य’ रहेको थियो । त्यो चुनाव चिन्ह नेकपाले लिएको छ । तर अहिलेको नेकपा एमाले दलले ‘पहाडबाट उदाउँदै गरेको सूर्य’ निर्वाचन चिन्हका लागि आयोगमा पेश गरेको छ । निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेपछि सबै प्रक्रिया पुर्याएर आयोग बैठकले निर्णयअनुसार दल दर्ता गरिएको प्रवक्ता श्रेष्ठले बताए ।