भाद्र ११, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न २२ निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबार २२ निर्णय सार्वजनिक गरेका हुन् । खतिवडाका अनुसार सहन्यायाधिवक्तामा ज्ञान प्रसाद भुसाललाई नियुक्त गरी सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय छ भने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिजाललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।
त्यस्तै सेनाका प्रमुख सेनानी सरोज कुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गरिएको छ । १२ महासेनानीको सरुवा पनि गरिएको छ । त्यसैगरी बैठकले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमति पत्र जारी गर्ने कार्य पुनः सुचारु गर्ने निर्णय गरेको छ ।