उपत्यकामा निषेधाज्ञा जारी रहने संकेत, अत्यावश्यक बाहेक यी सेवा खुलाउने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १६, मंगलबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र १६,काठमाडौँ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सकिने निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी गरेका छन् ।

उपत्यकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने प्रशासन कार्यालयहरुको तयारी छ ।

तर, यो पटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिनेछ । त्यसको मोडलिटीबारे मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा छलफल भएको छ ।

‘केही सम्भावनाबारे छलफल भएको छ, निष्कर्ष आइसकेको छैन’, एक सीडीओले भनेका छन् । अर्का एक प्रमुख जिल्ला अधिकारीले भने मोडालिटी तय गरेर गृह मन्त्रालयमा पेश गर्ने निर्णय भएको बताए ।

हालसम्म भएको छलफलअनुसार आगामी साताको निषेधाज्ञामा होम डेलिभरी र टेकअवे सेवालाई खुला गरिनेछ । ‘निर्माणका सामान र भन्सारबाट आउने सामग्रीलाई पनि सहजीकरण गर्ने भन्ने छ’, उनले भने ।

तर, यसबारे अन्तिम निर्णय भने बुधबार गृह मन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेसँग हुने छलफलपछि नै हुनेछ । ‘हामी एकखाले निर्णयमा पुगिसकेका छौं, भोलि यसबारे गृहमा छलफल गरेर निर्णय हुन्छ’, काठमाडौंका सीडीओ जनकराज दाहाल भन्छन् ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका थिए । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।

दोस्रो पटक निषेधाज्ञा थप्ने निर्णय पनि निषेधाज्ञा सकिने दिन मात्र गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस