असोज ५, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार विभिन्न सात जिल्लाको वडा अधिवेशन आज (मंगलबार) हुने भएको छ । काठमाडौसहित मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बर्दिया, कपिलवस्तु र बाजुराको वडा तहको अधिवेशन हुने भएको हो ।
यसअघि क्रियाशील सदस्यता टुंगिन नसक्दा ती जिल्लाको वडा अधिवेशन रोकिएको थियो । संशोधित महाधिवेशन कार्यतालिका अनुसार ती जिल्लाको अधिवेशन आज हुन लागेको हो ।
हालसम्म पनि क्रियाशील सदस्यता टुंगिन नसकेका १३ जिल्लाको वडा अधिवेशन भने आज पनि नहुने भएको छ । प्रदेश २ का ८ जिल्लासहित कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँकेको क्रियाशील सदस्यता टुंगिन बाँकी छ ।
असोज ९ गतेको लागि तोकिएको गाउँ/नगर अधिवेशनअघि वडा अधिवेशन सक्नैपर्ने वाध्यता रहेको छ । तर, हालसम्म पनि वडा अधिवेशनको टुंगो नभएकाले महाधिवेशनको कार्यतालिका पुनः प्रभावित हुन सक्नेछ ।
सातौंपटक संशोधन गरिएको कार्यातालिका अनुसार प्रदेश क्षेत्रीय अधिवेशन असोज १२ का लागि तोकिएको छ ।
एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन असोज १५ र त्यसभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन असोज १८ गते हुने गरी सारिएको छ । प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ । केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित समयअनुसार मङ्सिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ ।