असोज २१, काठमाडौँ । नेकपा एमालेको नयाँ लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो ।
परिवर्तित एमालेको नयाँ लोगो नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो छ । यसबारे नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले कानुनविद्हरुसँग परामर्शपछि के गर्ने भन्ने टुङ्गो लागाउँले बताए ।
समान्यतया अर्को पार्टीको चुनाव चिन्ह राख्न पाइँदैन । निर्वाचनसम्बन्धी कानुनमा उल्लेख गरिएको छ। नेता गुरुङले पार्टीले काननुविदहरुसँग छलफल गरेर अघि बढ्ने तयारी भइरहेको बताए ।
एमालेका उपमहासचिव विष्णु पौडेलले भने माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा नभएको भन्दै उहाँहरुको दावी नपुग्ने बताए । हँसिया हथौडा कम्युनिस्ट सबै पार्टीहरूको साझा झण्डा भएकाले माओवादीले दावी गर्न नमिल्ने पौडेलले बताए ।
एमालेले विधान महाधिवेशन अघिसम्म वर्गाकारभित्र सानो हँसिया हथौडा राखेर त्यसैको भित्रि भागमा अङ्ग्रेजीमा युएमएल लेखेको लोगो प्रयोग गर्दै आएको थियो । तर पछिल्लो समय तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाले प्रयोगमा ल्याएको उक्त लोगोलाई थोरै परिवर्तन गरेर एमाले विधान महाधिवेशनले पारित गरेको हो ।
एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा हुँदा दुवै पार्टीका चुनाव चिन्ह मिलाएर त्यस्तो लोगो प्रयोगमा ल्याइएको थियो । तर अहिले भने एमालेले एकलौटी आफ्नो चुनाव चिन्ह समेत एमालेको लोगो बनाएपछि माओवादीका नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।