आश्विन २२,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले आफ्नो पूरै परिवार कांग्रेसमा रहेको बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागिरहेको बेला मन्त्री हमालले पदभार ग्रहण गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।
मन्त्री हमालले शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा भने, ‘मेरा राजनीतिक क्रियाकलापलाई पनि तपाईंहरूले हेर्नुपर्छ । म २०२५ सालमा नेपाली कांग्रेसमा लागेको मान्छे हो । मेरो दाइ नेपाली कांग्रेसको जिल्ला सभापति, मेरो बुबा नेपाली कांग्रेसको, म र मेरो परिवार सबै नेपाली कांग्रेसको हो ।’
मन्त्री हमालले आफू २०३१ सालमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको जिल्ला सभापति भएको पनि बताए ।
गैरसांसद हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्री बनाएका हुन् । उनी प्रधानन्यायाधीश जबराका जेठान पनि हुन् । गैर सांसद व्यक्ति ६ महिनाका लागि मात्रै मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।