भाद्र २४, काठमाण्डौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केही दिनअघि चिनियाँ राजदूत छन सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन् । उनले राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन रामेछापले आज (आइतबार) गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले भारत र चीन दुवै देश नेपालका असल छिमेकी रहेको उल्लेख गर्दै काठमाडौंमा रहेर एकले अर्काको विषयमा टिप्पणी गर्नु कूटनीतिक मर्यादा विपरीत हुने बताए ।
नेता कोइरालाले कांग्रेसमा हाल चरम गुटबन्दी भएका कारण समस्या देखिएको भन्दै गुटबन्दी र विभाजनलाई तोडेर अघि बढ्न नसके कांग्रेस अझै ठूलो समस्यामा फस्न सक्ने बताए । उनले पार्टीमा रहेका समस्या समाधान गर्न आफ्नो प्रयास रहने बताए । ‘वर्षा सकिएको छ । अब छिट्टै म देश दौडाहामा जाने तयारीमा छु,’ उनले थपे, ‘जनताको चाहना के छन् ? त्यसलाई बुझेर कांग्रेसले अघि बढ्न सक्नुपर्छ ।’
नेता कोइरालाले कोशी प्रदेशमा दलहरुको असमझदारीका कारण समस्या उत्पन्न भइरहेको भन्दै सबै दल मिलेर समस्या समाधान गर्नुपर्ने बताए । उनले राजनीतिक मुद्दालाई अदालतले मात्रै टुंगोमा पुर्याउँछ भनेर विश्वास गर्न नसकिने बताए ।