२५६८औँ बुद्धजयन्ती

‘सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ’ : प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ जेष्ठ १०, बिहिबार (३ हप्ता अघि)
  • ५० पटक पढिएको
‘सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ’ : प्रधानमन्त्री दाहाल

जेठ १०, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबीच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताएका छन् ।

आज २५६८औँ बुद्धजयन्तीको पूर्वसन्ध्यामा आज आयोजित चित्रकला प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री दाहालले बुद्धका शाश्वत वाणी विश्वमा झनै सान्दर्भिक हुँदै गएको बताए । ‘बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘म विश्वस्त छु, बुद्धको शिक्षाको विश्वासपूर्ण अनुसरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबीच विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत गर्नेछ।’

लुम्बिनी आउँदा आफूलाई सधैँ खुसी अनुभूत हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लुम्बिनीले विश्वका सम्पूर्ण मानवका लागि शान्तिको केन्द्रका रूपमा ऐतिहासिक र सांस्कृतिक महत्त्व राख्ने बताए । उनले भने, ‘नेपाल सरकारले लुम्बिनीलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिकस्थलका रूपमा मात्र नभई बुद्ध धर्मको स्रोत र शिक्षा र बौद्धिक खोजको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पटकपटक व्यक्त गरेको छ ।’

सांस्कृतिक सम्पदाको प्रदर्शनका लागि गरिएका अथक प्रयासहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री दाहालले विशिष्ट कलाकारहरूको सिर्जनशीलता र जोश प्रेरणादायी भएको बताए । नेपाल–भारत सम्बन्धको सन्दर्भमा सांस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै प्रधानमन्त्रीले दुई देशका जनतालाई प्राचीनकालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको उल्लेख गरे ।

#२५६८औँ बुद्धजयन्ती

ताजा अपडेट

खोजी गर्नुहोस