वैशाख, १८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी नयाँ आर्थिक क्रान्तितर्फ अग्रसर भएको बताएका छन् । १३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले बिहीवार काठमाडौंमा गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा मुलुकमा देखिएका तमाम समस्याहरूको समाधान गर्न अग्रसर भएको दाबी गरे । उनले फेरि एकचोटी नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधनसहित अहिले भोगिरहेका समस्याहरूलाई समाधान गरिने बताउँदै एकताको बलमा पार्टीलाई नयाँ ठाउँमा लैजाने जमर्को गरिरहेको बताए ।
यस्तै उनले सरकारमा जाने कुनै रुचि नभएको बताए । प्रचण्डले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुचि नभएको बताउँदै आफूहरू जनताहरूसँग ठिक रहेको बताए । उनले सञ्चारमाध्यममा आउने विभिन्न समाचारहरूबाट अलमलमा नपर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे ।
‘फेरि यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने हामीलाई कुनै रुचि छैन । हामी जनतासँगै ठिक छौँ । तपाईँहरू कन्फ्युजनमा नपर्नु होला । हामी आन्दोलनमार्फत फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा यी तमाम समस्याहरूको समाधान गर्नतिर अग्रसर छौँ ।’ उनले भने, ‘मैले तपाईँहरूलाई गम्भीरपूर्वक अपिल गर्न चाहन्छु, तपाईंहरू अगाडि आउँदा यो देशले फेरि एकचोटी नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधनसहित तपाईँ हामीले अहिले भोगिरहेका समस्याहरूलाई समाधान गरिनेछ ।’
अध्यक्ष प्रचण्डले माओवादी केन्द्रलाई कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो भन्दै आरोपित र अपमानित गर्न खोजिएको टिप्पणि गरे । उनले माओवादी केन्द्रले कसैसँग नमिली आफ्नै खुट्टामा उभिएर चुनाव लडेपछि गत उपनिर्वाचनमा देशकै पहिलो पार्टी बनेको जिकिर गरे ।
उनले नेपाली काँग्रेस र नेकपा ९एमाले०का विद्यार्थी सङ्गठनहरू मिल्दासमेत गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफूहरूले धेरै ठाउँ जितेको र ऐतिहासिक रेकर्ड बनेको जिकिर गरे ।
अध्यक्ष दाहालले मुलुकमा पछिल्लो समय राजनीतिक परिवर्तनलाई नै उल्ट्याउने दुस्साहस हुन खोजेको बताउँदै उक्त दुस्साहसलाई रोक्ने ठूलो जिम्मेवारी आफूहरूको काँधमा आएको समेत बताए ।