वैशाख २०, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक शनिबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्नेगरी बैठक तय भएको छ ।
बैठकमा राष्ट्रपतिले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको समिक्षालगायत समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यसूची रहेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
संसदमा दलको तर्फबाट खेल्ने भूमिकाका बारेमा समेत छलफल हुने प्रमुख सचेतक बर्तौलाले बताए ।
यस्तै नेपाली कांग्रेसको संसदीय दलको बैठक संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने भएको छ ।
सरकारले आगाकी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि पार्टीमो धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ ।