वैशाख २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको छ ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आइतबार बेलुकी प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसहितको भेटमा संक्रमणकातीन न्यायमा अहिलेसम्म भइरहेका कामबारे छलफल हो ।
बैठकपछि उपमहासचिव पुनले सरकारले संक्रमणकालीन न्यायसम्बन्धी अधुरा कामहरू टुंग्याउने प्रक्रिया सकारात्मक रुपमा अघि बढाएको बताए । उने संक्रमणकालीन न्यायमा भएका कामबारे सरकारले प्रतिपक्षलाई जानकारी गराएको बताए ।
सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगमा पदाधिकारी सिफारिस गर्न समिति गठन गरेको छ । तर, प्रमुख तीन दलबीच आयोगका पदाधिकारीबारे सहमति जुट्न सकेको छैन ।
यसअघि वैशाख १८ गते आयोगबारे सहमति जुटाउन तीन दलबीच बैठक बोलाइए पनि आफूलाई सरकारी निर्णयको साक्षी मात्रै बनाउने गरीएको भन्दै असन्तुष्टि जनाएर प्रचण्ड सहभागी भएका थिएनन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबारमा बोलाएको बैठकमा प्रचण्ड नगएपछि छलफलमा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कुराकानी भएको थियो ।