जेठ ८, काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई हाजिरी जमानीमा छुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका उनलाई हिजो राति नै बोलाएको बखत उपस्थित हुने गरी छोडिएको हो ।
भट्टराईलाई आज बिहीवार अख्तियारमा उपस्थित हुन निर्देशन दिइएको छ । भिजिट भिसाको आवरणमा मानव तस्करसँग सेटिङ गरेर नेपालीलाई विभिन्न देश पठाएको आरोपमा अनुसन्धानका लागि उनलाई अख्तियारले बुधबार पक्राउ गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा अख्तिायारले छापा मार्न लागेको सुइको पाएपछि गृहमन्त्री रमेश लेखकले प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई मङ्गलवार अकस्मात गृह मन्त्रालयमा सरुवा गरेका थिए ।
अख्तियारले भट्टराईको मोबाइल सहित विमानस्थल अध्यागमन कार्यालयबाट कम्प्युटरलगायत विद्युतीय डिभाइस र कागजातसमेत नियन्त्रणमा लिएको छ । यस्तै अख्तियारले थप तीन ठाउँ ट्राभल एजेन्सी र एउटा मेनपावर सञ्चालकको कार्यालयमा छापा मारेर कागजात र ‘डिभाइस’ जफत गरिएको अख्तियारले जनाएको छ ।
ट्राभल एजेन्सीका सञ्चालक खगेन्द्र सुवेदीको कार्यालय र एसकेआर मेनपावर सञ्चालक बालकृष्ण पौडेलको कार्यालयमा अख्तियारले छापा मारेको हो । अध्यागमनका कर्मचारीले बिचौलियासँग मिलेर ‘कोडवर्ड’ प्रयोग गरेर रकम असुल्ने गरेको सुराकको आधारमा अख्तियारले त्यसबारे अनुसन्धान गरिरहेको छ