जेठ ८, काठमाडौं । संघीय संसद्अन्तर्गतका चार संसदीय समितिको बैठक बिहीबार बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।
सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई) बीच छलफल हुनेछ ।
यस्तै प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठक पनि बिहान ११ बजे बस्दै छ । बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुने कार्यसूची रहेको छ ।
यस्तै राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० बस्दैछ । समितिमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्वबजेटका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिबीच छलफल हुनेछ ।
यसैगरी संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विपद् व्यवस्थापन (विपद् न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) का सम्बन्धमा भएका कामकारबाहीबारे छलफल हुँदै छ । समितिको बैठक बिहान ११ बजे बस्दै छ ।