पौष १५, महेन्द्रनगर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तका हत्यारा जो कोही भए पनि नछोड्ने पुरानै आश्वासन दोहोर्याएका छन् ।
प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नियमित अनुगमनका क्रममा यहाँ आएका आईजीपी खनालले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकारसँग कुराकानी गर्दै पहिलेकै आश्वासन दोहोर्याएका हुन्।
घटनाको अनुसन्धान जारी रहेको बताउँदै उनले निर्दोष नफस्ने र दोषी जो कोही भएपनि नछाडिने बताए। अनुसन्धानमा प्रहरी कसैको दबाब र प्रभावमा नपरेकाे उनको जिकीर छ।शंकाको घेरामा आएका साना ठूला सबैलाई अनुसन्धानको दायरामा ल्याइने उनले बताए ।
आईजीपी खनाल निर्मला हत्याकाण्ड पछि दोस्रो पटक कञ्चनपुर आएका हुन्। उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रम, प्रहरी एकाइको वस्तुस्थिति लगायतका विषयमा पनि जानकारी लिएका छन् ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना भन्दा बढी समय भैसक्दा पनि हत्याराको पहिचान गर्न नसकेको भन्दै प्रहरीको चौतर्फी आलोचना भइरहेका बेला अनुसन्धानमा आइजीपी आफै सक्रिय भएका छन्।
आईजीपी खनाल आइतबार केन्द्रीय अनुसन्धान ब्युरो, इन्टरपोल शाखा प्रमुख र महानगरीय अपराध महाशाखाका अधिकारीहरूसहित कञ्चनपुर पुगेका हुन्। महानिरीक्षकको टोलीमा ब्युरोका प्रमुख डिआईजी निरजबहादुर शाही, इन्टरपोलका एसपी उमेशराज जोशी, सचिवालयका एसपीद्वय गणेश रेग्मी र रामदत्त जोशी छन्।
यस्तै महानगरीय अपराध महाशाखाका डिएसपी रुँगम कुँवर र वरिष्ठ सई गजेन्द्र रावल पनि महानिरीक्षकको टोलीसँगै यहाँ आएका छन्।