राष्ट्रिय जलवायु सम्मेलन आजदेखि सुरु हुँदै, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष १६, सोमबार (६ साल अघि)
  • ४१ पटक पढिएको
Post Thumbnail

पौष १६, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको गुफाडाँडामा ‘राष्ट्रिय जलवायू सम्मेलन २०७५’ आजबाट सुरु हुँदैछ । ७७ ओटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा विषय विज्ञहरुले सम्मेलनमा छलफल गर्ने जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष कृष्णगोपाल तामाङले जानकारी दिए । सम्मेलनको सोमबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलन दुई दिनसम्म चल्नेछ ।

सामुद्री सतहबाट करिब २५ सय मिटरको उचाइमा रहेको गुफाडाँडामा हुन गइरहेको सम्मेलनका लागि सबै तयारी भइसकेको सम्मेलन संयोजक एवम् सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिएका छन् । स्थानीय, प्रदेश र केन्द्रमा जननिर्वाचित सरकार बनेपछि सबै तहले जलवायु परिवर्तनबाट बच्न अनुकूलनको योजना बनाउने तयारी गरिरहँदा सम्मेलन आयोजना गरिएको उनले बताए।

विश्वको जल्दोबल्दो समस्या बन्दै गरेको जलवायु परिवर्तनको मुद्धा सिन्धुपाल्चोकबाट शसक्त ढंगबाट उठान हुने उनले विश्वास व्यक्त गरेका छन् ।

जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूको पहिचान, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनले स्थानीयस्तरमा प्राथमिकता नपाएका कारण क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन सम्मेलनमा जोड दिइनेछ ।

‘जिल्लाका नदीनालामा बन्ने आयोजनाबाट जलवायु परिवर्तनमा पर्ने असर न्यूनीकरण र असर वापतको स्थानीयतहमा शुल्क व्यवस्थापनका विषयमा पनि सम्मेलनमा छलफल हुनेछ’ संयोजक तामाङले भने। सम्मेलनपछि सुन्दर हिमाली क्षेत्र गुफाडाँडा र आसपासका गाउँमा पर्यटक आगमनमा पनि वृद्धि हुने आयोजकको विश्वास छ ।

सम्मेलन हुने गुफाडाँडालाई यतिखेर दुलही झैं श्रृंगारिएको छ । जलवायु परिवर्तन सम्बन्धीको संचेतनात्क प्रतिमा निर्माण भइसकेको छ भने ७७ वटै जिल्लाको नामाकरण गरिएको पोलमा राष्ट्रिय झण्डा फरफराइ सकेको छ ।

स्थानियहरुले सम्मेलन स्थलको आसपासमा हाटबजारको लागी स्टल राखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस