वृद्धभत्ताको रकमले घरघडेरी, मरेका बाबुआमाको नामको भत्ता आफ्नै गोजीमा !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ चैत्र १४, बिहिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत १४, काठमाडौँ । देशमा संघीयता लागू भएपछि सबैभन्दा बढी भ्रष्टाचार स्थानीय निकायमा हुने गरेको पाइएको छ।

धेरैजसो हिनामिना सामाजिक सुरक्षा भत्तामा भेटिएको अख्तियारले औंल्याएको छ। अख्तियारले स्थानीय तहमा भएको अनियमितताका दुई दर्जन मुद्दा विशेष अदालतमा दर्ता गराइसकेको छ।

अख्तियारमा दायर भएका त्यस्ता मुद्दा मृत्यु भइसकेका वृद्धवृद्धाका रकम झुक्याएर लिनेदेखि वृद्धभत्ताको रकमले घरघडेरी जोड्ने कर्मचारीसमेत रहेको पाइएको छ। यो खबर आजको राजधानी दैनिकमा खबर छ ।

पछिल्लो ६ महिनाको अवधिमा मात्रै स्थानीय तहका ३ हजार ६ सय उजुरी अख्तियारको छानबिनको घेरामा रहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । विगतमा स्थानीय निकायमा अनियमितताको दर १८ प्रतिशत रहेकामा उजुरीको स्थिति र छानबिनलाई हेर्दा अनियमितता २१ प्र्रतिशत पुग्ने देखिन्छ।

यस्तै, महालेखा परीक्षक कार्यालयले हालै गरेको स्थानीय तहको लेखापरीक्षणमा समेत अनियमितता र बेरुजु बढेको देखाएको छ।

अख्तियारले उदयपुरको कटारी नगरपालिकामा भएको विषयमा छानबिन गर्दा सामाजिक कोषको भत्ताबाटै लेखा अधिकृत रविनचन्द्र ढकालले जग्गा खरिद गरेको भेटिएको थियो।

छानबिनको क्रममा करोडौं घोटला पाइएपछि लेखा अधिकृत ढकाल माथि नगरपालिकावासीका लागि ७ करोड २२ लाख सामाजिक सुरक्षा भत्ताको पैसा आफ्नै खातामा राखेर अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको छ।

उनले दुई सय बढी वृद्धवृद्धाका लागि जम्मा भएको रकम र नगरपालिकाको राजस्वको रकम हिनामिना गरेका हुन् । बैंकबाट सामाजिक सुरक्षाको भत्ता बाँड्ने भएपछि उनले वृद्धवृद्धालाई उक्त रकम नदिई आफ्नै खातामा राखेर काठमाडौँ जग्गा खरिद गरेका थिए।

यस्तै, सिरहाका रामपुर साविक गाविसका प्र्राविधिक सहायक प्रदीप पाठकले मृत्यु भइसकेका आफ्नै आमाबाबुको नाममा पाँच वर्षदेखि पैसा बुझेको भेटिएपछि अख्तियारले छानबिन ग¥यो।

छानबिनका क्रममा उनले गाउँका ५० भन्दा बढी व्यक्तिको पैसासमेत घोटाला गरेको भेटिएपछि अख्तियारले उनलाई १० लाख ८४ हजार रुपैयाँ हिसाब गोलमाल गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

‘प्राविधिक सहायक भएर पाँच वर्षअघि बितेका बाबुआमा जीवित छन् भनेर झुक्काएर राज्यकोषको दोहन गर्ने यी त प्र्रतिनिधि मात्रै हुन् । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले भने, ‘जनप्रतिनिधि स्वयं मिलेर भ्रष्टाचार गर्नेको दर पनि बढेको देखिन्छ।’

दैलेख साविकको छारी गाविसका सहलेखापाल छविराम शर्माले ८४ भन्दा बढी मृत्यु भएको वृद्धवृद्धाको रकम आफैैँ औंठाछाप लगाएर आफ्नै गोजीमा हाले।

उनले यसरी सुरुमा १ लाख ८४ हजार र पछि मृत्यु दर्ता नभएकाहरूको नामको पैसा आफ्नै ल्याप्चे र हस्ताक्षर गरी कुल ३ लाख ४४ हजार रुपैयाँ आफ्नै बैंक खातामा राखेको पाइएपछि अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । हाल उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ।

ताजा अपडेट

खोजी गर्नुहोस