निर्दयी ट्याक्सी चालक…..

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र १६, शनिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत १६, काठमाडौँ । काठमाडौँको गोर्कणेश्वर–४ का प्रविण कारञ्जित बुधबार बिहानै बाबु गोपाललाई लिएर स्कुटरमा चावहिलको मेडिकेयर अस्पताल पुगेका थिए।

ईसीजी गरेपछि अस्पतालले उनलाई घर पठाइदियो । अस्पतालमा निस्केर चिया पिएपछि झण्डै साढे ११ बजेतिर उनले बुबालाई ट्याक्सी चढाएर आफू घरतिर हिँडेका थिए।

धुलो–धुँवाले भरिएको बाटोमा स्कुटरमा फर्किंदा गाह्रो होला भनेर उनले बुबालाई ट्याक्सी चढाइदिएर आफू स्कुटरमा फर्किएका थिए।

घर पुगेको धेरैबेरसम्म बुबा नआइपुगेपछि उनको मनमा चिसो पस्यो। त्यही बेला उनलाई अपरिचितको नम्बरबाट फोन आयो। प्रविण हतारिँदै चावहिलकै हेल्पिङ ह्याण्डस अस्पताल पुगे।

त्यसपछि पो उनलाई थाह भयो, सकुशल घर फर्किन ट्याक्सी चढेका बाबु कहिल्यै नर्फकिने गरी मृत्युशैय्यामा लडिसकेछन्। सबैसँग सोधपुछ गरेपछि उनले सोच्दै नसोचेको घटनाको विवरण थाहा पाए।

ट्याक्सीको अघिल्लो सिटमा बसेका गोपाललाई अलिकति अगाडि बढ्ने बित्तिकै केही असहज महसुस भएछ। उनी बुरुक्क उफ्रिएजस्तो गरेछन् र बेहोस भएछन्। ट्याक्सी चालकले सामान्य मानवीयता पनि नदेखाई गोपाललाई लतार्दै अघिल्लो सिटबाट धुले भुईंमा खसालेर आफ्नो बाटो लागेछन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

सडक छेउको धुलोमा लडिरहेका मान्छे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे। अनि तुरुन्तै प्रहरीले गोपाललाई हेल्पिङ ह्याण्डस् अस्पताल पु‍‍र्‌यायो ।

प्रहरीले उनको साथमा रहेको बैंकको एटिएम कार्डबाट परिचय पाएलगत्तै सर्म्पक नम्बरको खोजीमा जुट्यो। त्यसपछि प्रहरीले बैंकमा सम्पर्क गरेर प्रविनको नम्बर पत्ता लगाएर उनलाई फोन गर्‍यो।

मृतक परिवारले मंगलबार नै घटनाबारे महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएसँगै प्रहरीले ट्याक्सी चालकको खोजी गरेको थियो।

गौशाला वृत्तका अनुसार हेल्पिङ हयाण्डस् अस्पतालको सीसीटिभी फुटेजमा गोपाल चढेको ट्याक्सी र गोपाल बेहोस भएपछि बाहिर लतार्दै निकालेको दृश्य कैद भएको छ। सीसीटिभी फुटेजमा ट्याक्सीको नम्बरप्लेट प्रस्ट नदेखिएपछि प्रहरीले महानगरीय ट्राफिक प्रहरी कार्यालयको सहयोग लिएको थियो।

ट्राफिक प्रहरीले विशेष सफ्टवेयर मार्फत फुटेजको गुणस्तर बढाएर हेरेपछि सम्भावित चार नम्बरहरु निकालेको थियो। त्यसैका आधारमा ट्राफिक प्रहरीले बिरामी यात्रुलाई सडकमै अलपत्र छाडेर भाग्ने बा१ख ३८५१ नम्बरको ट्याक्सीका चालक कमल श्रेष्ठलाई पक्राउ गर्‍यो।

पक्राउ परेका ट्याक्सी चालकले प्रहरीलाई दिएको बयान अनुसार मृतक गोपल अचानक उफ्रिएजस्तो गरे लगत्तै बेहोस भएपछि उनले अत्तालिएर ‘के गरौं, कसो गरौं’ भएर आफूले बाहिर निकालेर भागेको बताएका छन्।

मृतक परिवारको किटानी जाहेरीको आधारमा प्रहरीले ट्याक्सी चालकलाई सार्वजनिक शान्तिविरुद्धको अपराध गरेको भन्दै मुद्दा चलाउने प्रक्रिया अगाडि बढाएको छ।

मृतकका छिमेकी नवराज श्रेष्ठका ट्याक्सी चालकले सामान्य विवेक नपुर्याएकाले बिरामीको मृत्यु भएको दाबी गरे।

‘केही सय मिटर परको अस्पतालमा पुर्‍याएर छोडीदिएको भएपनि बाँच्ने सम्भावना थियो। कस्तो धर्म नभएको चालक रैछ,’ उनले भने। श्रेष्ठले घटना दुःखदायी मात्रै नभएर अमानविय भएको बताए। ‘संवेदनाहीनताका कारण एक बिरामीको मृत्यु भएको हो,’ उनले भने, ‘सोच्दै नसोचेको घटना भयो।’

प्रहरी स्रोतका अनुसार मृतकको पोस्टमार्टम गर्दा उनको मृत्युको कारण हृदयघात भन्ने देखिएको छ।

मृतक गोपालका छिमेकी श्रेष्ठले मेडिकेयर अस्पतालमा परीक्षण गरेर डिस्चार्ज भए लगत्तै गोपालको मृत्यु भएकोमा उक्त अस्पतालले गरेको उपचारमा पनि प्रश्न उठाए।

घटनको अनुशन्धानमा संलग्न प्रहरीका अनुसार मेडिकेयर अस्पतालले मृतक गोपालको अवस्था सामान्य रहेको भनेर डिस्चार्ज गरेको देखिन्छ। उनले थप अनुशन्धान जारी रहेको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस