चैत २४, काठमाडौँ । सरकारले सुर्खेतमा चार वर्षदेखि अलपत्र परेका बाढी पीडितको घर नेपाली सेनालाई बनाउन दिने निर्णय गरेको छ ।
आइतबारको मन्त्रिपरिषद बैठकले बाढी पीडितको घर सेनाको सहयोगमा बनाउने निर्णय गरेको हो । सरकारले बारा पर्साका हावाहुरी पीडितको घर पनि सेनालाई बनाउन दिने निर्णय गरेको थियो ।
पुनस्थापनाको उचित व्यवस्था नहुँदा सुर्खेतका ४ हजार भन्दा धेरै बाढी पीडित हाल पनि जिल्लाका विभिन्न ठाउँमा रहेका १७ वटा शिविरमा बसिरहेका छन् ।
२०७२ साल साउनमा गएको बाढीबाट सुर्खेतमा ६ हजार २ सय भन्दा बढी विस्थापित भएका थिए। प्लाष्टिक र खरको छाप्रोमा रहेका सबै बाढी पीडितको अवस्था अहिले निक्कै दयनीय छ ।
अभाव सहन नसकी सुर्खेतका एक बाढी पिडितले आत्महत्या समेत गरेका थिए।