माघ १८, हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँवर्ष २०७७ मा सुरुङमार्ग निर्माण थालनी हुने बताएका छन् । प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले ‘यस्तो प्रदेशका १३ ओटै जिल्लाको आवश्यकता बनेको हेटौंडा–काठमाडौं सुरुङमार्गको डीपीआरको काम फागुनभित्र सकिएर चैतमा निर्माणका लागि बोलपत्र आह्वान गरिने’ बताए ।
मुख्यमन्त्री पौडेलले काठमाडौंसँग जोडिने हेटौंडाका सबै मार्गहरु ६ महिनाभित्र स्तरोन्नति र आरामदायी हुने जानकारी दिए । उनले हेटौंडाबाट काठमाडौं जाने छोटो बाटोमध्येको भैँसे–भीमफेदी सडकखन्डको केही दिनमा नै बोलपत्र आह्वान गरिने जानकारी गराउँदै भीमफेदी–कुलेखानी सडकखन्ड निर्माणका लागि भने निर्माण सामग्रीसमेत झरिसकेको बताए ।
प्रदेश राजधानी जोडिने सबै सडक अब फराकिला र स्तरीय हुने उनले जानकारी गराए । प्रदेश राजधानीको स्थायित्व टुंगो नलागकेका कारण भौतिक निर्माणमा ढिलाइ भएकाले अब तीव्रगतिमा भौतिक संरचना निर्माण हुने मुख्यमन्त्री पौडेलको भनाइ छ । उनले अब प्रदेशसभाको अर्को अधिवेशन नयाँ भवनमा हुने र प्रदेशसभा सदस्यहरुको आवासक्षेत्र निर्माणमासमेत प्रदेश सरकार जुटेको बताए । रासस