माघ २१, काठमाण्डौ । काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्ग प्राविधिक रूपमा सम्भव देखिएको छ । चिनियाँ प्राविधिक टोलीले एक महिना लगाएर गरेको प्रारम्भिक अध्ययनले सो सुरुङमार्गको निर्माण तथा सञ्चालन प्राविधिक रूपमा सम्भव देखिएको हो ।
चिनियाँ टोलीले एक महिनासम्म स्थलगत रूपमा बसेर अध्ययन गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्ग निर्माणका लागि उच्चस्तरीय चिनियाँ प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनले सो सुरुङमार्गको निर्माण तथा सञ्चालन प्राविधिक रूपमा सम्भव देखाएको जानकारी दिए । अध्ययनका लागि पुसको दोस्रो साता नेपाल आएका चिनियाँ टोली अध्ययन सम्पन्न गरी स्वदेश फर्किसकेको छ ।
सुरुङमार्गको निर्माणपछि अढाइ घण्टामा नै राजधानीदेखि चीनको सिमानासम्म र आधा घण्टामा नुवाकोटको थानसिङ्ग फाँटसम्म पुग्न सकिनेछ । यो सुरुङमार्ग निर्माण भएपछि थानसिङ्ग फाँटमा ‘स्याटेलाइट सिटी’ निर्माण गर्ने योजना सरकारको छ ।