फाल्गुण १५, काठमाण्डौ । चीनमा कोरोना भाइरस रोग–२०१९ ९कोभिड–१९० को प्रभाव व्यापक बन्दा नेपालको औषधि उद्योगमा असर परेको छ । भारतबाट औषधिको कच्चा पदार्थ आउने क्रम रोकिन थालेको छ । भारतमा बढी कच्चा पदार्थ चीनबाट भित्र्याइन्छ ।
बढी कच्चा पदार्थ उत्पादन गर्ने चीनको हुबेई प्रान्त कोभिड–१९ को संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ । संक्रमण सुरु भएपछि त्यहाँ कच्चा पदार्थ उत्पादन गर्ने कारखाना बन्द भएका छन् ।
नेपालमा वर्षमा करिब ३० अर्ब रुपैयाँसम्मको औषधि आयात हुन्छ । यहाँको औषधि उद्योगमा करिब ४० अर्ब रुपैयाँको लगानी छ । नेपालमा करिब ८ सय प्रकारका औषधि उत्पादन हुन्छ । औषधि उद्योगबाट करिब ३० हजारले रोजगारी पाएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।