फाल्गुण १७, काठमाण्डौ । सरकारले राष्ट्रिय गौरवका आयोजनाको पूर्वाधार विकासको कामलाई तीव्रता दिएको छ । गल्छी–रसुवागढी सडक, मध्यपहाडी राजमार्ग, हुलाकी सडक, उत्तरदक्षिण राजमार्ग, मदन भण्डारी राजमार्ग, कालिगण्डकी करिडोर लगायत आयोजनाको पूर्वाधार निर्माणमा सरकारले विशेष चासोका साथ काम गरिरहेको छ । सात महिनामा सडक विभाग अन्तर्गत सञ्चालित आयोजनामा २४.१३ प्रतिशत पूँजीगत खर्च गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सङ्गठन सुधार र नीतिगत व्यवस्थापनलाई चुस्त पार्दै सञ्चालित आयोजनाको भौतिक प्रगतिलाई परिणाममुखी बनाउन लागेको छ ।
सङ्घीयता कार्यान्वयनसँगै केही सडक प्रदेश र स्थानीय सरकारको क्षेत्रमा परे पनि ८० मार्गको १५ हजार किलोमिटर सडक क्षेत्र हेर्ने जिम्मेवारी मन्त्रालयको छ । मन्त्रालयअन्तर्गत ३३ सडक डिभिजन कार्यालय छन् । आवश्यकमात्रामा कर्मचारी नहुँदा केही समस्या भने यथावत् रहेको मन्त्रालयले जनाएको छ । कतिपय काम एउटा मन्त्रालयले मात्रै गर्न नसक्ने भएकाले अन्तरमन्त्रालयबीच समन्वय गरी आयोजनालाई गति दिने काम जारी रहेको जनाइएको छ ।
गल्छी–त्रिशूली–स्याफ्रुबेंसी–रसुवागढी सडकखण्डमा छ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ । पूर्व झापाको बाहुनडाँगीदेखि पश्चिम डडेलधुरा जोड्ने मदन भण्डारी राजमार्गअन्तर्गत यस अवधिमा २६ किलोमिटर सडक र ११ पुल निर्माण भएका जनाइएको छ । भारतीय नाकाबाट पूर्वपश्चिम राजमार्ग जोड्ने व्यापारिक मार्ग विस्तार आयोजनाको कामसमेत सरकारले तीव्ररुपमा अघि बढाएको छ ।
प्रगति विवरण सुनाउँदै मन्त्री नेम्वाङले तीन वर्षमा निर्माण सक्ने योजनाका साथ नागढुङ्गा–नौबिसे सुरुङमार्गको काम थालिएको र सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा पनि सुरुङमार्गको डिजाइन तयार पारी ठेक्काको चरणमा गएको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक सुरुङमार्गको युगमा प्रवेश गरेको यसअघि बताइसकेका छन् । आफूले कार्यभार सम्हालेको १०० दिन पुगेका अवसरमा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले सडक सुरक्षालाईसमेत सरकारले विशेष ध्यान दिएको बताए ।