फाल्गुण १९, काठमाण्डौ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गर्दै धादिङको सल्यानटारमा १७ किमिको पर्यटकीय तथा विश्वविद्यालयसहितको शैक्षिक सहर निर्माण गर्न छलफल सुरु गरेको बताएका छन् । उनले यो काम छिट्टै हुने समेत बताएका छन् । यसैगरी काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पहिलो प्राथमिकतामा रहेको समेत बताए । मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री मानन्धरले आफूले सय दिनमा गरेका कामहरूको प्रगति र उपलब्धि सार्वजनिक गरेका हुन् । उनले आगामी नयाँ वर्षसँगै उपत्यकाको फोहोर व्यवस्थापनका लागि नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरे डाँडामा निर्माण भइरहेको ल्यान्डफिल्ड साइट सञ्चालनमा ल्याउने तयारी भएको बताए ।
त्यस्तै काठमाडौंमा निर्माण गर्न लागिएको चार नयाँ सहरको डीपीआरका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणलाई आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको बताए । उनले काठमाडौं उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्ने गरी नयाँ चक्रपथ राजमार्गको परिकल्पना गरिएको र विभिन्न १० स्थानमा नयाँ सहर निर्माण गर्र्ने विषयमा छलफल सुरु गरेको बताए । यसबाहेक बाराको सिमरा उपमहानगरपालिकामा चक्रपथ निर्माण गर्ने र गोरखाको मनकामना जाने सडक स्तरोन्नति गर्न पहल भएको उनले बताए । त्यस्तै अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने, ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउनेलगायत काम गरेको उनको दाबी थियो । कलंकीदेखि चाबहिलसम्म निर्माणाधीन चक्रपथमा अन्डरपास, फ्लाई ओभर, सुरुङ लगायतमा प्राविधि विषयमा सुझाव संकलन थालिएको बताए । उपत्यकामा धुवाँ धूलो न्यूनीकरण गर्ने र भित्री सडक मर्मत र खाल्डाखुल्डी पुर्नेलगायत कामलाई तीव्र बनाइएको जानकारी दिए । सरकारबाट घोषणा भएका २७ नयाँ सहर निर्माण गर्न मध्यपहाडी लोकमार्गमा कार्यालय स्थापना गरी १० नयाँ सहरको काम थालिएको बताए । त्यतै मन्त्रालयमा जनशक्ति व्यवस्थापनका लागि संगठनात्मक सर्वेक्षणको सुरुवात गरिएको छ ।
फोटो : सांकेतिक