दश नयाँ सहर निर्माण योजना : धादिङको गल्छीदेखि नुवाकोट सम्म बिस्तार ! धादिङ कोशेढुङ्गा सावित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २४, शनिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फाल्गुण २४, काठमाण्डौ । काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या चाप नियन्त्रण गर्न सरकारले १० वटा नयाँ सहर निर्माण गर्ने जनाएको छ । केही वर्षदेखि काठमाडौं उपत्यकाको जनसंख्या बढ्दै गएकाले सीमा जोडिएका जिल्लामा आधुनिक सहरको विस्तार गर्न लागिएको हो ।

उपत्यकाको वैकल्पिक सहरका रूपमा टोखा–छहरे सुरुङमार्गसँगै रहेको थानसिंह, ढिकुरे गंगटे हुँदै देवीघाट, रातामाटे हुँदै गल्छीसम्म र थानकोट–नौबिसे निर्माणधीन सुरुङमार्ग आसपासको गल्छीसम्मको भू–भागमा सुविधा सम्पन्न सहर बसाल्ने तयारी भएको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जानकारी दिए ।

त्यसैगरी, नुवाकोटको छहरेदेखि धादिङको गल्छीसम्मको करिब ३५ किमि र धादिङको गल्छीदेखि नुवाकोटको चाउथे–बन्चरे हुँदै तीनपिप्ले बालाजु जोड्ने क्षेत्रमा पनि सहर निर्माण गरिने छ । नुवाकोटको बट्टारदेखि विदुर हुँदै बेत्रावतीसम्मको त्रिशूली उपत्यका, बेत्रावतीदेखि जिपजिपे, धुन्चे र रसुवाको टिमुरेसम्मको हिमाली सहर, नुवाकोटको गंगटे–पीपलटार–बुहुनीबेसी–देवीघाट–महादेवफाँट–गल्छी र गल्छीदेखि–चाउथे हुँदै बन्चरेडाँडा–तीनपिप्लेमा नयाँ सहर निर्माणका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।

धादिङको नौबिसे–गल्छी, मकवानपुरको इन्द्रसरोवर, सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती उपत्यका, दोलालघाट, पाँचखाल, भकुन्डेबेंसी, बनेपा, धुलिखेल र पनौती क्षेत्रसहित समेटेर नयाँ सहरको अवधारणा अघि बढाइएको छ । मानन्धरका अनुसार प्रदूषणमुक्त राजधानी बनाउने परिकल्पनासहित सहर निर्माण प्रक्रिया अघि बढाइएको हो । ‘प्रक्रिया अघि बढिसकेको छ, केही दिनभित्रै यसको अन्तिम निष्कर्ष बाहिर ल्याउँछौं,’ उनले भने, ‘विभिन्न सहरी विज्ञसँग छलफल गरेर अघि ल्याएको योजना हो ।’ उपत्यकाको विकल्पका रूपमा बेलैमा नसोचे २० वर्षपछि जनसंख्याको चाप नियन्त्रण गर्न गाह्रो हुने उनले बताए । त्यसैगरी, धादिङको सल्यानटारमा बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणपछिको अवस्थालाई आकलन गरी त्यस वरपरको १७ किमि क्षेत्रमा पर्यटकीय तथा विश्वविद्यालयसहितको शैक्षिक सहर निर्माणको योजना बढाउनेबारे विज्ञसँग परामर्श भइरहेको मानन्धरले बताए ।

पछिल्लो तथ्यांकअनुसार उपत्यकामा ४० लाखभन्दा बढी मानिस बसोबास गर्छन् । मन्त्री मानन्धरका अनुसार उपत्यका बाहिरको चाप नियन्त्रण गर्न सरकारले २७ वटा सुविधासम्पन्न आधुनिक सहर निर्माण गरिरहेको छ । मध्यपहाडी लोकमार्गमा निर्माणाधीन १० नयाँ सहरको काम सुरु भइरहेको उनले बताए । लोकमार्गमा सरकारले २० वर्षमा प्रत्येक सहरमा एक लाख जनसंख्या अटाउने महत्त्वाकांक्षी योजनासाथ पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे, बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम, अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ सहर घोषणा गरेको हो । जमिनको उपलब्धता, खानेपानीको स्रोत, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अवस्थिति, जनसंख्या, बसाइ–सराइ, गैरकृषि क्रियाकलाप, साक्षरता, विद्युत्सेवाको उपलब्धता जस्ता ९ वटा सूचकका आधारमा नयाँ सहर छनोट गरिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस