फाल्गुण ३०, काठमाण्डौ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । हालको अवधिमा करिब ९० प्रतिशत भौतिक प्रगति रहेको यो विमानस्थल सन्निकट सञ्चालनको अवस्थामा रहे पनि कोभिड–१९ को विश्वव्यापी प्रकोपका कारण आयोजनालाई असर परेको छ ।
अबको छ महिनाभित्र विमानस्थल पूर्णरुपमा सञ्चालन गर्ने पूर्वनिर्धारित योजना अझै कम्तीमा छ महिना लम्बिने आयोजनाका अधिकारी बताउँछन् । यही हिसाबले गौतमबुद्ध विमानस्थल अर्को अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२१ को शुरुआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।