चैत्र १७, हेटौँडा । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सोमबारदेखि प्रदेश राजधानी हेटौंँडाबाटै कोरोना भाइरस कोभिड १९ परीक्षण हुने बताएका छन् । मन्त्री दुलालले हेटौंँडाको कीटजन्यरोग अनुसन्धान केन्द्र भिभिडी आरटिसी मा रहेको प्रयोगशालालाई व्यवस्थित बनाएर कोभिड १९ को परीक्षण गरिने बताए ।
उनले त्यहीँ स्वाब संकलन गरेर त्यहीं परीक्षण गर्ने र संक्रमित पाइएमा उपचारका लागि व्यवस्था गरिएको बताए । मन्त्री दुलालले प्रदेश नं २ का विभिन्न जिल्लालाई समेत पायक पर्नेगरी हेटौंडामा प्रयोगशाला सञ्चालन गर्न लागिएको उल्लेख गरे । संक्रमितलाई राख्नका लागि प्रदेश सरकारले मात्र सघन उपचार कक्षसहितको तीन सयभन्दा बढी आइसोलेशन कक्ष निर्माण गरिएको छ ।
मन्त्री दुलालले सबै आइसोलेशन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिएको उल्लेख गरे ।