फागुन २१,काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का दुई महिला विमान चालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाण्डौदेखि दुबई) भरेका हुन् । पाइलटद्वय भावना पन्त र को–पाइलट सिर्जना राउतको टोलीले काठमाण्डौ–दुबईका लागि अन्तर्राष्ट्रिय उडान गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
‘पाइलटद्वय भावना पन्त र सिर्जना गिरीले पहिलो पटक अन्तर्राष्ट्रिय उडान गर्नुभएको हो, निगमको उडान इतिहासमा यो पहिलो रेकर्ड पनि हो, आन्तरिकमा महिला पाइलटले उडाएको रेकर्ड छ तर अन्तर्राष्ट्रियमा यो पहिलो हो’, उनले भनिन्। निगमका अनुसार दुई महिला पाइलटले निगमको एअरबस ए–३२० जहाज शनिवार राति ११ बजे काठमाण्डौबाट दुबईका लागि उडान भरेका हुन् ।
उनीहरू दुबईबाट यात्रु लिएर आउँदो बुधवार बिहान काठमाण्डौ फर्कने उडान तालिका रहेको छ । बुधवार अन्तर्राष्ट्रिय महिला दिवसका दिन यो उडानमा सबै चालक दलका सदस्यहरू महिला हुने जनाइएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा चार जना न्यारोबडीमा र एक जना वाइडबडीमा गरी पाँच जना महिला पाइलट छन् ।