जेठ ८, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुधबार पेप्सीकोलाबाट एक जनालाई नियन्त्रणमा लिएको ।
पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-१६ बस्ने सुनसरी इनरूवा नगरपालिका घर भएका ३२ वर्षीय रमेशकुमार यादव छन् । उनलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै तीनजनाबाट २६ लाख ८० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
यस्तै, ठगीमा संलग्न रहेको अभियोगमा गिल्ट ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक काठमाडौं महानगरपालिका-२६ लैनचौर बस्ने २१ वर्षीय श्रृजेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले जर्मनीमा हुन लागेको अन्तर्राष्ट्रिय अपाङ्गता सम्मेलन २०२५ मा सहभागी हुने व्यक्तिहरूका लागि हवाई टिकट, टर्कीको ट्रान्जिट भिसा र होटल बुकिङसमेत गरी दिन्छु भनी नक्कली कागजात बनाई चार लाख ३० हजार ठगी गरेको भन्ने उजुरी परेको थियो ।
उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।