शहीद स्मारक ‘ए’ डिभिजन लिग : एनआरटीको विजयी सुरुवात, पुलिस र शेर्पा बराबरीमा रोकिए

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष २, बुधबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पुस २,काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले विजयी सुरुवात गरेको छ ।

गएको संस्करणमा लिगको पुछारमा रहेको एनआरटीले लिगको पहिलो खेलमा सरस्वती युवा क्लबलाई ४–० गोल अन्तरले हरायो । जितसँगै यो सिजनमा तीन अंक जोडे पनि एनआरटीले गएको संस्करणको २ अंक तिर्नु परेकाले तालिकामा भने १ अंकमात्रै जोडेको छ ।

सातदोबाटोको एन्फा कम्पलेक्सको मैदानमा मंगलबार भएको खेलमा एनआरटीको जितमा जुनियर ओंगे, सरोज तामाङ, एरिक विष्ट र जोर्डन जुनियर निडेम्बाले एक–एक गोल गरे ।

३५ औं मिनेटमा जुनियर ओंगेको गोलबाट अग्रता बनाएको एनआरटीले दोस्रो हाफमा तीन गोल थपेको थियो । ६९ औं मिनेटमा सरोज तामाङले गोल गर्दै एनआरटीको अग्रता दोब्बर बनाए ।

यसैगरी एरिक विष्टले ८१ औं मिनेटमा टिमका लागि तेस्रो गोल थपे । दोस्रो हाफमा दबाबमा रहेको सरस्वतीले ९० औं मिनेटमा चौथो गोल खान पुग्यो । एनआरटीका लागि जोर्डन जुनियर निडेम्बाले गोल गरेका थिए ।

त्यस्तै मंगलबार नै भएको दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा पुलिस शेर्पासँग गोलरहित बराबरीमा रोकियो । विभागीय टिम पुलिसले शेर्पाविरुद्ध पहिलो हाफमा खासै राम्रो ‘मुभ’ बनाउन सकेन । जसका कारण पहिलो हाफमा गोलरहित बराबरी खेल्यो ।

दोस्रो हाफमा पुलिसले केही सुधारिएको प्रदर्शन गरे पनि पाएको अवसरलाई सदुपयोग गर्न सकेन । जसका कारण उसले यो सिजनको पहिलो खेलमा नै अंक बाढ्न बाध्य भयो । यता शेर्पाको पनि स्ट्राइकिङ लाइनले राम्रो प्रदर्शन गर्न सकेन ।

बराबरीपछि पुलिस र शेर्पाले एक–एक अंक बाँडेका छन् ।

ताजा अपडेट

३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस