सागको सफलतापछि सदस्यसचिव सिलवाल उत्साहित, १४औँ सागमा नेपालले ७५ स्वर्ण जित्ने दावी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष २, बुधबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पुस २,काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले पाकिस्तानमा आयोजना हुने १४औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ७५ स्वर्ण पदक जित्ने लक्ष्य राखेको बताएका छन ।

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेपा) मा १३औँ सागमा बक्सिङतर्फ पदक जित्ने खेलाडी तथा चीन जाने बक्सिङ खेलाडीको बिदाइ कार्यक्रममा सदस्यसचिव सिलवालले १४औँ सागका लागि अहिलेदेखि नै तयारी थाल्न निर्देशन पनि दिए ।

उहाँले १३औँ सागमा लक्ष्यअनुरुप नै नेपालले पदक जितेकामा खुशी व्यक्त गरे । ‘१३औँ सागमा स्वर्ण जित्नेले एसियाली खेलकुदमा पनि स्वर्ण नै जित्नु पर्‍यो’, उनले भने, ‘अब त्यहीअनुसार तयारी थाल्नुस् ।’

प्रतियोगिता सम्पन्न भएको पाँच दिनभन्दा बढी समयसम्म प्रशिक्षणविहीन अवस्थामा बस्न नहुने भन्दै उनले अभ्यासमा जुट्न खेलाडी तथा प्रशिक्षकलाई निर्देशन दिए ।

१३औँ सागमा महिला खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको सदस्यसचिव सिलवालको भनाइ थियो । ‘१३औँ सागमा ५१ स्वर्णमध्ये ३० स्वर्ण महिला खेलाडीले जिते’, उनले भने, ‘महिला खेलाडीलाई खेलतर्फ आकर्षित गर्न जरुरी छ ।’

पदक जित्ने खेलाडीलाई संघीय सरकारसँगै प्रदेश र पालिकाहरुले पनि नगदसहित सम्मान गर्न लागेको उनले उल्लेख गरे ।

स्वर्ण पदक विजेता बक्सिङ खेलाडीलाई सम्मान

यसैबीच १३औँ सागमा स्वर्ण पदक विजेता बक्सिङ खेलाडीलाई सम्मान गरिएको छ । नेपाल बक्सिङ संघले राखेपमा आयोजित कार्यक्रममा सदस्यसचिव सिलवाल, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, संघका संस्थापक अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, संघका पूर्वअध्यक्ष रविराज थापालगायतले पदक विजेता खेलाडीलाई सम्मान गरेका थिए ।

कार्यक्रममा १३औँ सागमा बक्सिङतर्फ ५४ किलो तौल समूहमा स्वर्ण विजेता महिला खेलाडी मिनु गुरुङ तथा ६० र ६४ किलो तौल समूहमा स्वर्ण विजेता पुरुष खेलाडी क्रमशः सनिल शाही र भूपेन्द्र थापालाई जनही २ लाख रुपैयाँसहित सम्मान गरिएको थियो ।

त्यस्तै तीनै जनालाई संघका अध्यक्ष अवालेले जनही एक लाख ५० हजार रुपैयाँ तथा संस्थापक अध्यक्ष श्रेष्ठले जनही ५० हजार रुपैयाँ प्रदान गरेका थिए । त्यस्तै १३औँ सागमा बक्सिङमा ६ रजत तथा ६ कांस्य जित्ने खेलाडीलाई पनि चाँडै सम्मान गरिने अध्यक्ष अवालेले जानकारी दिए ।

मिनु र भूपेन्द्र ‘एसियन ग्राण्ड स्लाम’ मा सहभागी हुने

१३औँ सागमा बक्सिङतर्फ स्वर्ण जितेका मिनु गुरुङ र भूपेन्द्र थापा यही पुस ४ र ५ गते चीनमा आयोजना हुने ‘एसियन ग्राण्ड स्लाम’ मा सहभागी हुने भएका छन् ।

गुरुङले ५४ किलो तौल समूह तथा थापाले ६४ किलो तौल समूहमा प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ संघका अध्यक्ष अवालेले जानकारी दिए ।

ग्राण्ड स्लाममा गुरुङ र थापासँगै प्रशिक्षकद्वय रमेश श्रेष्ठ र सुवर्ण सापकोटा तथा व्यवस्थापक शोभाजंग केसी चीन जाँदैछन् ।

ताजा अपडेट

३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस