पौष २८, काठमाण्डौ । अमेरिकाको मिचिगनमा आउँदो मे महिनाको १ र २ तारिखमा हुने अन्तरराष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगितामा नेपालबाट पाँच खेलाडीले सहभागिता जनाउने भएका छन् ।
यो प्रतियोगिताको १३औँ संस्करण हो । आइओएफटिसीले प्रत्येक दुई वर्षको फरकमा अन्तरराष्ट्रिय प्रतियोगिता गर्दै आएको छ । संस्थाले अमेरिकाको पोर्टल्याण्ड राज्यमा पाँच, नेपालमा चार तथा भारत, बेलायत र हङकङमा एक÷एकपटक प्रतियोगिता आयोजना गरिसकेको छ ।
पुरुषतर्फ सिनियर र जुनियर विभिन्न तौल समूह तथा इभेन्ट र यसैगरी महिलातर्फ पनि सिनियर र जुनियर विभिन्न तौल समूह तथा इभेन्ट गरी ६५ स्वर्ण, ६५ रजत र १३० कास्य पदकका लागि प्रतिस्पर्धा हुने संयोजक गोर्खालीले बताए ।
नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुने खेलाडीसमेत छनोट गरिसकिएको उनले जानकारी दिए । उनका अनुसार गत कात्तिक १ र २ मा चितवनको रत्ननगरमा भएको तेस्रो खुला मैत्री रत्ननगर तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट नतिजा निकालेका पाँच खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
सो प्रतियोगितामा उत्कृष्ट नतिजा निकालेका सीतापाइला डोजाङका शैलेशराज गिरी, कोटेश्वर डोजाङका रञ्जीत साउद, मैत्री डोजाङका दिनेश सुनार, सीतापाइला डोजाङकी आयशा तामाङ र कोटेश्वर डोजाङकी सुस्मिता मोक्तान रहेका छन् ।
छनोट भएका खेलाडीलाई जनही रु एकरएक लाख पुरस्कारसमेत दिइएको संयोजक गोर्खालीले बताए । झण्डै रु एक करोड २० लाख खर्च अनुमान गरिएको प्रतियोगिताको १३औँ संस्करण गर्न १०५ सदस्यीय मूल आयोजक समिति बनाइएको आइओएफटिसीका संस्थापक निर्देशक दिवाकर महर्जनले बताए ।