माघ १५,काठमाडौँ । नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार संकटा क्लबलाई ३-० ले पराजित गरेको छ । मनाङको जितमा अन्जन विष्ट र निशान लिम्बु गोल गरे भने एक गोल आत्मघाती भएको थियो । खेलको सातौं मिनेटमा अन्जनको प्रहार डिफ्लेक्ट भएपनि निशान लिम्बुको प्रहारलाई संकटाका गोलरक्षक बिनय श्रेष्ठले बचाए । लगत्तै मासाउके इटिग्नेको क्रसलाई मनाङका गोलरक्षक दिप कार्कीले बचाए । १५ औं मिनेटमा कमल श्रेष्ठले मासाउकेलाई फउल गरेपछि प्राप्त फ्रिकिकमा सुवास गुरुङको प्रहारलाई गोलरक्षक दिप कार्कीले पञ्च गर्दै बचाए ।
२०औं मिनेटमा विमल रानाको प्रहारलाई गोलरक्षक विनय श्रेष्ठले गल्ती गरेपनि बिष्णु सुनारले गोललाइन नजिकबाट क्लियर गरिदिदा मनाङ अग्रता लिनबाट चुक्यो । २२ औं मिनेटमा निशानको क्रसलाई गोलरक्षक विनयले सहजै नियन्त्रणमा लिए । २६ औं मिनेटमा कर्ण बहादुर सुब्बाको प्रहारलाई गोलरक्षक दिपले बचाए ।
४२ औं मिनेटमा लुइस भिडालको क्रसमा अन्जनको प्रहारलाई अमित तामाङले आफ्नै पोस्टमा गोल गर्न पुग्दा मनाङले खेलमा अग्रता बनायोे । लगत्तै अन्जनले वान भर्सेस वानमा गोल गर्दै मनाङलाई पहिलो हाफमा २-० को अग्रता दिलाए । डिफेन्डर रोमन लिम्बुको गल्तीमा अन्जनले गोलरक्षकलई विट गर्दै गोल गर्न सफल भए ।
५३ औं मिनेटमा फेमी जोसवाले विमलको पासमा गरेको सशक्त प्रहारलाई गोलरक्षक विनयले पञ्च गर्दै बचाए । त्यसमै बिमल रानाले गोल गरेपनि अफसाइड ठहरिए । ५६ औं मिनेटमा पेनाल्टी बक्सबाहिर प्राप्त फ्रिकिकलाई लक्ष्मण रुचालले सदुपयोग गर्न सकेन ।
५८ औं मिनेटमा लक्ष्मण रुचालको प्रहारलाई आदित्य चौधरीले हेडिङ गर्दै बचाए । ७३ औं मिनेटमा निशानले गोल गर्दै मनाङलाई खेलमा ३(० को अग्रता दिलाए । विमलको क्रसमा अमित तामाङले हेडिङ प्रयास गरेपनि नभेटेको बललाई निशानले नियन्त्रणमा लिदै गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो ।
८७ औं मिनेटमा लक्ष्मणको कर्नरमा कर्ण बहादुर सुब्बाले हेडिङ प्रयास गरेपनि पोस्टबाट थोरै बाहिरियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका मनाङका मिडफिल्डर अन्जन म्यान अफ द म्याच घोषित भए ।
यस जितसँगै मनाङ ९ खेलमा १९ अंक जोड्दै लिग तालिकाको शीर्ष ३ मा प्रवेश गरेको छ । संकटा १२ अंकसहित आठौं स्थानमा छ ।