लिबियाबाट आप्रवासी बोकेर युरोप जाँदै गरेको डुंगा दुर्घटना, ६५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ बैशाख २८, शनिबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

बैशाख २८, काठमाडौँ । लिबियाबाट आप्रवासी बोकेर युरोप जाँदै गरेको एउटा डुंगा भूमध्यसागरमा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्र संघको शरणार्थी नियोग युएनएचसीआरले ट्युनिसियानजिक समुद्रमा डुंगा दुर्घटना भएको जनाएको छ । दुर्घटनामा परेका १६ जनाको उद्दार गरिएको छ ।

समुद्रमा आएको ठूलो छालमा परेर डुंगा दुर्घटना भएको उद्धार गरिएकाहरुले बताएका छन् ।

यु.एन.एच.सी.आर.ले यो वर्ष लिबियाबाट युरोप जान लागेका १ सय ६४ जनाको डुंगा दुर्घटनामा परेर मृत्यु भइसकेको जनाएको छ ।

यद्यपी पछिल्लो दुर्घटना यो वर्षकै सबैभन्दा ठूलो भएको बताइएको छ । दुर्घटनामा परेर पनि बाँच्न सफल भएकाहरुलाई ट्युनिसियाको नौसेनाले आफ्नो देशको तटसम्म ल्याएको छ ।

एक जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । ट्युनिसियाको रक्षा मन्त्रालयले दुर्घटना भएको थाहा पाउने वित्तिकै माछा मार्न प्रयोग गरिने डुंगा परिचालन गरेर उनीहरुको उद्दार गरिएको जनाएको छ ।

डुंगामा सवार अधिकांश व्यक्ति अफ्रिकी मुलुकका भएको बताइएको छ । हरेक वर्ष हजारौं आप्रवासी भूमध्य सागर पार गर्दै युरोप छिर्ने प्रयास गर्ने गरेका छन् ।

यस्ता मानिसले लिबियालाई प्रमुख प्रस्थान विन्दू बनाउँदै आएका छन् । यो वर्षको शुरुआती तीन महिनामा मात्र १५ हजार ९ सय आप्रवासी भूमध्ये सागर पार गरेर युरोप पुगेका छन् ।

संयुक्त राष्ट्र संघको एक प्रतिवेदनले हरेक दिन भूमध्य सागर पार गर्न खोज्ने ६ आप्रवासीको मृत्यु हुने गरेको जनाएको छ ।(एजेन्सी)

ताजा अपडेट

खोजी गर्नुहोस