साउन ५, काठमाडौँ । लायतका विदेश मन्त्री जेरोमी हन्टले इरानले बदलाको भावना अनुसार खाडीमा एउटा तेल ट्याकर कब्जा गरेको बताएका छन् ।
बेलायती विदेश मन्त्री हन्टले इरानका विदेश मन्त्री जवाद जारीफसँग टेलिफोनमा कुराकानी गरेपछि इरानले जुलाई मै आफ्नो तेल ट्यांकर कब्जा भएको घटनाको जवाफ दिनका लागि बेलायतको तेल ट्यांकर नियन्त्रणमा लिएको बताएका हुन् ।
इरानको तेल ट्यांकर नियन्त्रणमा लिनुमा बेलायतको मुख्य भूमिका रहेको इरानी भनाई छ । अहिले बेलायती तेल ट्यांकर नियन्त्रणमा लिएर त्यसको जवाफ दिएको इरानी पक्षको आशय रहेको हन्टले उल्लेख गरेका छन् ।
इरानले तेलको ट्यांकर नियन्त्रणमा लिएपछि उत्पन्न तनाव अन्त्य गर्नका लागि बेलायत प्रयासरत रहेको विदेश मन्त्री हन्टले बताएका छन् । यस्तै खाडी क्षेत्र हुँदै आवत–जावत गर्ने सबै पानी जहाज तथा ट्यांकरको सुरक्षा पनि सुनिश्चित गरिने उनले उल्लेख गरेका छन् ।
बेलायती तेल ट्यांकरले अन्तर्राष्ट्रिय समुद्री नियम उल्लंघन गरेको इरानी आरोप छ । इरानी विदेश मन्त्री जारीफले हन्टसँगको टेलिफोन वार्ताको क्रममा नियन्त्रणमा लिएको तेल ट्यांकरका सम्बन्धमा कानूनी प्रक्रिया सुरु गर्नु पर्ने र त्यसपछि मात्रै रिहा गर्न सकिने बताएको इरानी समाचार संस्था इरनाले उल्लेख गरेको छ ।
पछिल्लो केही महिनादेखि अमेरिका र इरानबिचको सम्बन्धमा थप कटुता आएको छ । यस्तै बेलायतसँगको सम्बन्ध पनि इरानको बिग्रिँदै गएको छ ।
सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिका बाहिरिएर राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको प्रतिबन्ध थप कडा बनाए । इरान यसबाट रुष्ट भएको थियो । त्यसको प्रतिक्रिया स्वरुप इरानले युरेनियमको उत्पादन बढायो । यस्तै अमेरिका ड्रोनलाई इरानले आक्रमण गरी खसाल्यो ।
गएको शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले एक इरानी ड्रोन ध्वस्त पारेको बताए । इरानले सो कुरा अस्वीकार गर्यो । यी सबै घटना क्रमले दुई देश बिचको तनाव उत्कर्षमा पुगेको छ । यहि बिचमा तेलको ट्यांकर नियन्त्रणमा लिएपछि बेलायत र इरानबिचको सम्बन्ध पनि अप्ठ्यारोमा परेको हो । एजेन्सी