माघ १६, काठमाण्डौ । युरोपेली संसदले बेलायत युरोपियन युनियन इयूबाट बाहिरिनेसम्बन्धी सम्झौता अनुमोदन गरेको छ । ब्रसेल्सस्थित युरोपेली संसदमा बुधबार भएको मतदानमा ६२१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका हुन् ।
४९ सांसदविरूद्धमा उभिए भने १३ जनाले मत नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बेलायतबाट प्रतिनिधित्व गर्ने ७३ जना सांसदले भने युनियन झण्डा प्रदर्शन गरेर इयूसँग बहिगर्मनको हर्षोल्लास गरे । युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीले मत परिणाम घोषणा गर्दै बेलायत ईयूबाट अलग्गिए पनि सधैं युरोपको भाग रहिरहने बताए । बेलायतले ४७ वर्षदेखि सदस्य रहेको ईयूसँगको सम्बन्ध यही शुक्रबार राति ११ बजे त्याग्दै छ ।