साउन ५,दिल्ली। भारतले चीनबाट सुरु भएको नोभेल कोरोना भाइरसविरुद्ध लड्नका लागि विश्वभरका १५० मुलुकलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्लाई सम्बोधन गर्दै करोना महामारीको विश्वव्यापी संकटका समयमा यस विरुद्धको लडाईंका लागि १५० मुलुमा सहयोग विस्तार गर्ने बताएका हुन् ।
उनले यसअघिका विभिन्न विपत्तिमा समेत भारतले सहयोग र साथ दिँदै आएको उल्लेख गर्दै अहिले महामारीका समयमा पनि भारतले सहषोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भने, ‘भूकम्प, साइक्लोन, इबोला संकट तथा अन्य मानव र प्राकृतिक विपत्तिलगायतका कठिन समयमा भारतले तीव्र गतिमा सहयोग र एक्यबद्धता व्यक्त गर्दै आएको छ । अहिलेको यस महामारीविरुद्ध लड्नका लागि पनि भारतले औषधी उपकरण तथा चिकित्सा सहयोग गर्नेछ ।’
भारतले कोरोनाविरुद्धको लडाईलाई जनताको अभियानको रुपमा अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले सरकार र नागरिक समाजको संयुक्त प्रयास आवश्यक हुने बताएका छन् ।
भारत संयुक्त राष्ट्रको सुरक्षा परिषद्को अस्थायी सदस्यमा दुई वर्षका लागि निर्वाचित भएपछिको प्रधानमन्त्री मोदीको राष्ट्र संघमा गरेको यो पहिलो सम्बोधन हो ।