साउन २७, काठमाण्डौ । बेरुतमा गत मंगलबार राति भएको बिस्फोटको घटनाका कारण लेबनानका प्रधानमन्त्री हसन दियाबसहित मन्त्रिपरिषद्का सबै सदस्यले राजीनामा दिएका छन् । दियाबले सोमबार साँझ राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । प्रधानमत्री दियाबले राजीनामा राष्ट्रपति माइकल आउनसमक्ष दिएका छन् । यसको आधिकारिक घोषणा चाँडै नै हुने बताइएको छ । यसअघि दियाब मन्त्रीमण्डलका अधिकांश सदस्यहरुले राजीनामा दिएका थि ।
मंगलबार बेरुत बन्दरगाहमा गोदाममा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेट बिस्फोटमा २ सय जनाको ज्यान जानुका साथै हजारौं घाइते भएपछि सरकारको राजीनामा माग गर्दै हिंस्रक प्रदर्शन भइरहेको थियो । लेबनानमा महिनौंको राजनीतिक गतिरोधपछि हसन दियाब गत जनवरीमा प्रधानमन्त्री नियुक्त भएका थिए । देशवासीलाई सम्बोधनका क्रममा उनले देशलाई बचाउन एक रोडम्याप तयार गरे पनि भ्रष्टाचार आरोपका कारण आफूले त्यसलाई अघि बढाउन नसकेको बताए ।