भाद्र २३, काठमाण्डौ । युरोपेली संघबाट बेलायतको बहिर्गमन ब्रेक्जिट पछि दुवै पक्षबीच व्यापार सम्झौताको सम्भावना न्यून हुँदै गएको छ । बेलायत र युरोपेली संघ ईयू का प्रमुख वार्ताकारहरूले समेत ब्रेक्जिटपछिको सम्झौता सजिलो नभएको औंल्याउँदै आएका छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ईयूसँग जारी वार्तामा अक्टोबर १५ भित्र ठोस प्रगति नभए ब्रेक्जिट वार्ताबाट अलग हुने चेतावनी दिएका छन् । उनको प्रतिक्रियासँगै बेलायत आफ्नो अडानमा कायमै रहेको प्रस्ट भएको छ । ब्रेक्जिटबारे ईयूसँग कुनै सम्झौता नभए पनि त्यो बेलायतका लागि फलदायी हुने जोन्सनको भनाइ छ ।
प्रधानमन्त्री जोन्सनले युरोपेली वार्ताकारहरूले आफ्नो अडानमाथि पुनर्विचार नगर्ने हो भने बेलायत वार्तामा बसिरहनुको कुनै अर्थ नरहने समेत बताएका छन् । जोन्सनले वार्ता सहज नभए बिनासम्झौता ईयूबाट सम्पूर्ण रूपले अलग हुने बारम्बार बताउँदै आएका छन् । बहुमत बेलायती व्यवसायीले बोरिस नीतिको आलोचना गरे पनि यसले ईयूलाई थप लचिलो हुन बाध्य पारेको जानकारहरूको विश्लेषण छ ।
त्यसैगरी, बेलायतका प्रमुख ब्रेक्जिट वार्ताकार डेभिड फ्रस्टले बेलायत सरकार बिनाकुनै व्यापार सम्झौता सन् २०२१ मा युरोपेली संघ छाड्न नडराउने टिप्पणी गरेपछि दुवै पक्ष आ–आफ्नो अडानमा कायमै रहेको स्पष्ट भएको छ ।