पुस २४, काठमाण्डौ । पराजय अस्वीकार्दै निर्वाचन परिणाम उल्ट्याउन गरेका सारा प्रपञ्च विफल भएपछि अन्ततः अमेरिकी राष्ट्रपति पदका पराजित उम्मेदवार डोनल्ड ट्रम्पले निर्धारित मितिमा सत्ता सुम्पने कबुल गरेका छन् ।
अमेरिकी संसदसमेतले डेमोक्र्याट उम्मेदवार जो बाइडेनलाई ४६ औं राष्ट्रपतिका रुपमा सत्ता सम्हाल्न औपचारिक अनुमति प्रदान गरेपछि ट्रम्पले बल्ल निर्धारित मिति जनवरी २० मा बाइडनलाई सत्ता सुम्पने बताए । संसदले परिणाम प्रमाणित गर्ने दिन आफ्नो हिंस्रक समर्थकको दस्ता उतारेर संसद भवन नै कब्जा गर्ने प्रयास विफल भएपछि एक विज्ञप्ति जारी गर्दै ट्रम्पले २० जनवरीमा शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने कबुल गरेका हुन् ।