भदौ २२, एजेन्सी । अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यका तालिबानले कब्जामा लिएको दाबी गरेको छ । तालिबान विरोधी गढ मानिएको उक्त उपत्यकामा स्थानीयहरुले तालिबानको कडा प्रतिरोध गर्दै आएका थिए ।
तालिबान विरोधी किल्लाका रुपमा पछिल्लो चर्चामा रहेको उक्त प्रान्त अहिलेसम्म तालिबानको शासनभन्दा बाहिर थियो । जबकि पूरै देश तालिबानको कब्जामा गइसकेको थियो । तर यहाँ भने प्रतिरोधी फौजमा सामेल हजारौँ युवाले तालिबाविरुद्ध युद्ध जारी राखेका थिए ।
तालिबानले उक्त उपत्यकामा पनि विजय हासिल गरेको जनाएको छ । तालिबानले सोमबार एउटा भिडिओ फुटेज सार्वजनिक गरेको, जसमा लडाकुहरूले तालिबानको झन्डा उचालेको देखिन्छ ।
तर तालिबानको प्रतिरोध गरिरहेको समूहले भने आफूहरू अझै पनि सबै रणनीतिक स्थानहरूमा उपस्थित रहेको बताउँदै लडाइँ जारी राख्ने जनाएको छ । उक्त प्रतिरोधी समूह न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान ९एनआरएफ० का नेता अमहम मसूदले तालिबानविरुद्ध ‘देशैभरि विद्रोह’को आह्वान गरेकका छन् ।
मसूदले तालिबानलाई मान्यता दिएको र उनीहरूलाई सैन्य तथा राजनीतिक विश्वास दिलाएको अन्तर्राष्ट्रिय समुदायलाई आरोप लगाउँदै भनेका छन्, ‘तपाई जहाँकहीँ भए पनि, भित्र वा बाहिर, हाम्रो देशको गरिमा, स्वतन्त्रता र समृद्धिका लागि म तपाईँहरूलाई देशव्यापी विद्रोह सुरु गर्न आह्वान गर्छु ।’ यो अडियोसहितको रेकर्ड सामाजिक सञ्जालबाट बाहिर आएको छ ।
अफगानिस्तानमा महिलाहरूको प्रदर्शन
करिब तीन हप्ताअघि तालिबानले अफगानिस्तानको सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो । तर पञ्जशिर एउटा मात्र प्रान्त अहिले पनि तालिबानको प्रतिरोधमै छ ।
बिबिसीका अनुसार भिरालो पर्वतले घेरिएको पन्जशिर उपत्यकामा डेढदेखि दुई लाख मानिसहरू बसोबास गर्छन् । यसअघि सोभियत सङ्घ र तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि पन्जशिर उनीहरूको नियन्त्रणमा गएको थिएन । सन् १९८० को दशकमा सोभियत सेनाविरुद्ध र सन् १९९६ देखि २००१ सम्म तालिबानको कडा प्रतिरोध भएको थियो ।