पोर्चुगल यूईएफए नेसन्स लिगमा स्पेनसँग १–१ को बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ जेष्ठ २०, शुक्रबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

जेठ २०, काठमाण्डौ । रिकार्डो होर्टाले देशका लागि पहिलो गोल गरेको दिन पोर्चुगलले बिहीबार राति यूईएफए नेसन्स लिगमा स्पेनसँग १–१ को बराबरी खेलेको छ । सेभियामा सम्पन्न खेलमा घरेलु टोली स्पेनले २५औं मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिएको थियो । गाभीको सहयोगमा पाब्लो सराबियाले दिएको पासलाई मोराटाले पोष्ट दिशा दिएका हुन् ।

क्लब ब्रागाका होर्टाले खेल सकिन आठ मिनेट बाँकी हुँदा बराबरी गोल फर्काएपछि पोर्चुगल एक अंक खोस्न सफल भएको थियो । होर्टाले २०१४ मा पहिलो पटक पोर्चुगलका लागि खेलेका थिए । उनी ७२औं मिनेटमा राफेल लियोको स्थानमा मैदान छिरेका थिए । पछिल्लो चार खेलमा स्पेन र पोर्चुगलले सबैमा बराबरी खेलेको छ । यस बराबरीसँगै लिग ‘ए’ समूह २ मा स्पेन र पोर्चुगलले समान एक अंक जोडेका छन् । तीन अंक जोडेको चेकगणतन्त्र शीर्ष स्थानमा छ ।

चेकगणतन्त्रले गएराति स्विट्जरल्यान्डलाई २–१ ले पराजित गरेको थियो । घरेलु टोली चेक गणतन्त्रले ११औं मिनेटमा जान कुचताको गोलबाट अग्रता लिएको थियो । ४४औं मिनेटमा स्विट्जरल्यान्डका नोह ओकाफोरले बराबरी गोल फर्काएका थिए । ५८औं मिनेटमा स्विट्जरल्यान्डका डिजिब्री सोले गरेको आत्मघाती गोल चेकगणतन्त्रको जितमा निर्णायक बन्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस